• २०८३ बैशाख १८ गते शुक्रवार

राष्ट्रियस्तरको भेट्रान्स फुटबलको उपाधि चितवनलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस २४, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालित राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको छ । आज सम्पन्न फाइनलमा चितवन भेट्रान्सले हेटौँडाको कालभैरव भेट्रान्सलाई ३–१ गोलअन्तरले पाखा लगाउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधि विजेता चितवनको तर्फबाट कप्तान वीरेन्द्र पाण्डेले दुई तथा सुरज गुरुङले एक गोल गर्नुभएको थियो । चितवनका पाण्डेले प्रतियोगिताको २२औँ मिनेट र थप गरिएको अतिरिक्त चार मिनेटमा गोल गर्नुभएको थियो भने गुरुङले प्रतियोगिताको ११औँ मिनेटमा एक गोल गर्नुभएको थियो । कालभैरव हेटौँडाको तर्फबाट डेविन श्रेष्ठले थप गरिएको अतिरिक्त तेस्रो मिनेटमा एक गोल गर्नुभयो ।

चितवन भेट्रान्सले उपाधिसँगै रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको कालभैरव भेट्रान्स क्लब हेटौँडाले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको छ । आजको खेलमा चितवन भेट्रान्सका सुरज गुरुङ म्यान अफ म्याच घोषित हुनुभयो ।

त्यस्तै प्रतियोगिताभरको सर्वाधिक गोलकर्ता चितवन भेट्रान्सका कप्तान वीरेन्द्र पाण्डे हुनुभएको छ । पाण्डेले प्रतियोगिताभरि चार गोल गर्नुभएको थियो । त्यसैगरी उत्कृष्ट गोलरक्षक चितवन भेट्रान्सका गोलरक्षक राजकुमार गुरुङ, उत्कृष्ट डिफेन्डर कालभैरव हेटौँडाका हेमकुमार शर्मा, उत्कृष्ट मिडफिल्डर कालभैरव हेटौँडाकै दीपककुमार राई तथा सर्वोत्कृष्ट खेलाडी चितवन भेट्रान्सका हर्कबहादुर गुरुङ घोषित हुनुभएको छ । उत्कृष्ट खेलाडीले रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । –––

Sharing

प्रतिक्रिया दिनुहोस