मंसिर २१, काठमाडौं । घटना हो, गएको आइतबारको । काठमाडौं– ४ धुम्बाराहीमा बेहुला पक्षको घरअघि एउटी युवतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या प्रयासमा हुन्छिन् । आगो शरीरभर दनदनी बल्न थाल्छ ।

उनलाई देख्ने घरवालाले युवतीका बुबा पुरुषोतम न्यौपानेलाई फोन गर्छन्, ‘पुष्पाजस्ती कोही शरीरमा आगो लगाएर जल्दै छिन् ।’ उताबाट जवाफ आउँछ, ‘जो भए पनि बचाउनुहोला ।’ ती फोन गर्ने व्यक्ति भने तीनै युवतीले विवाह गर्न भनेर टिकाटालो गर्नेको बेहुलाका बुबा हुन्छन् । घटना बेहुला पक्षकै परिवारको आँखाअगाडि घरकै गेटबाहिरको हो ।
तर न उनीहरू ती युवतीलाई बचाउन आगो निभाउने प्रयास गर्छन्, न त प्रहरीलाई खबर गर्नतर्फ नै अघि सर्छन् । मात्रै उनीहरू रमिते बनेरै बस्छन् । त्यतिकैमा प्रहरीलाई घटना’bout अन्य कसैले खबर गर्छन् र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली घटनास्थल पुग्छ । ती युवती हुन्, पुष्पा न्यौपाने, उमेर २७ वर्ष ।
गत १८ भदौमा पुष्पाको विवाह धुम्बाराहीस्थित दिनेश संग्रौलाका छोरा २९ वर्षीय सुधन संग्रौलासँग गर्ने तय हुन्छ । यसबीच इन्गेजमेन्ट गरेर उनीहरू एक आपसमा नजिक हुन्छन् । घरपरिवारसँग पनि भेटघाट र आवतजावत बढ्छ । उनीहरूबीचको चिनजान २०७८ माघदेखिकै हुन्छ । पुष्पा आफ्नो टिकाटालोका फोटा तथा भिडियो सामाजिक सञ्जालमा हाल्न चाहन्थिन् ।
बेहुला पक्ष रमिते, अनुसन्धान गर्दै प्रहरी
तर सुधनले रोक्छन् । उनीहरूबीच सोही विषयमा खटपट हुन्छ । तर, पुष्पाले आफ्ना परिवारलाई भन्दिनन् र सुदनमाथि पुष्पाको शंका बढ्दै जान्छ र विवाह मिति नै तय हुन्न । एक्कासी गत शनिबार संग्रौला परिवार पुष्पाको बुद्धनगर नयाँ बानेश्वरस्थित घरमा जान्छन् र १८ भदौमा विवाह पक्का गर्दा दिएका जनैसुपारी, दक्षिणा र गरगहना फिर्ता गरेर विवाह रद्द गर्ने निधो गर्छन् ।
पुष्पाको परिवारका सदस्य भने सम्बन्ध तोड्नुको कारण सोध्छन् । तर केटा पक्ष भने ‘आङ्खनै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिन्छन् । सुधनले घटना’bout पुष्पा नै जानकार भएको जवाफ दिन्छन् । र, घटनाले पुष्पाको शरीरलाई आगो लगाउने अवस्थासम्म पु¥याएको हुन्छ । पक्का भइसकेको विहाह तीन महिनापछि रद्द हुँदा पुष्पालाई सह्य नभएर उनी मानसिक रूपमा तनावमा पुगेको घटनाले देखाउँछ ।
शनिबारको दिन त्यसै बित्छ र आइतबार घटनाले अर्कै मोड लिन्छ । घरबाट कपडा लिन भनेर निस्किएकी पुष्पा सुधनको घरको गेटअघि जल्न पुग्छिन् ।
घटनास्थलमा प्रहरी पुग्न ढिला भएका कारण पुष्पाको ७० प्रतिशत शरीरको भाग जलेको हुन्छ । प्रहरीले जलिरहेको शरीर नियन्त्रणमा लिएर शिक्षण अस्पताल महाराजगन्ज पु¥याउँछन् । त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिन्छ । तर उनको सोमबार बिहान साढे ९ बजे निधन हुन्छ ।
प्रहरीले घटनास्थलबाट एउटा लेडिज ब्याग र पुष्पाले प्रयोग गर्ने मोबाइल भेटेको छ । प्रहरीले घटना अनुसन्धानका लागि संग्रौला परिवारका चार जनालाई तत्कालै नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार दिनेश संग्रौला (बुवा), बिन्दु संग्रौला (आमा), वर्ष २९ का मधु संग्रैला र सोही उमेरका सुधन संग्रौला नियन्त्रणमा लिएकोमा सुधनबाहेक अन्य तीन जना भने अदालतको आदेशमा हाजीरीमा छुटिसकेका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जीसीले घटनाका मुख्य आरोपित सुधन संग्रौलालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले सुधनलाई भने आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको हो ।
पुष्पाका आफन्तले भने सुधन र उनको परिवारका कारण घटना भएको भन्दै सुधनसहित दाइ मधु, बुवा दिनेश र आमा बिन्दुविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दिएका छन् । ‘घटना संकास्पद छ, पुष्पाले आफैं आगो लगाएको हो वा लगाइयो भन्ने नै रहस्यमय छ, शरीरमा आगो लगाएको देख्दा देख्दै कोही किन रमिते बनेर बसे ?’ पुष्पाका आफन्तले भने । पुष्पाका आफन्तले घटनाको निश्पक्ष रुपमा अनुसन्धान गर्न प्रहरी समक्ष अनुरोध गरेका छन् ।
उनीहरूले घटना घटिसक्दा पनि नियन्त्रणमा लिने प्रयास नहुनु, प्रहरीलाई समयमा नै खबर नगर्नु र अस्पताल लैजानेतर्फ नलाग्नुले घटना शंकास्पद रहेको भनेका हुन् । प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।
प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरू पनि संकलन गरिरहेको छ । प्रारम्भिक जाँचबुझमा उनले आफैंले पेट्रोल खन्याएको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।