• २०८२ असार २४ गते मङ्गलवार

निर्वाचनसँगै भक्तपुरमा एमाले शक्तिसाली बन्दै: दर्जनौं युवा एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २१, भक्तपुर ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको संघारमा भक्तपुरमा एक पछि अर्को गर्दै दैनिक रुपमा एमाले सफलताको शक्तिसाली बाटोमा अगाडी बढिरेहेको छ ।

भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेका विभिन्न टोल, वडा, भातृ संगठन तथा जिल्ला कमिटीको आयोजनामा प्रायः दैनिक पार्टी प्रवेशको अभियान चलाएको छ । जसमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका पार्टी परित्याग गरी युवाहरु एमालेमा प्रवेश गरिरहेका छन् । यसै क्रममा आइतवार साँझ एमाले निर्वाचन परिचालन कमिटी वडा नं. ६ को आयोजनामा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा ४६ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा राप्रपाबाट गत स्थानीय चुनावमा वडा सदस्य उठ्नु भएका तुल्सिराम पंञ्च, नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु कृष्ण कुमार त्वाती, रुकेश धोजु, राकेस सुवाल, दिनेश सुकुभटु र नेकपा एसका वडा कमिटी सदस्य चन्दन कर्माचार्यको नेतृत्वमा नेपाली कांग्रेस र राप्रपा पार्टी परित्याग गरी ४६ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २का उम्मेदवार महेश बस्नेत, क्षेत्र नं. २ ‘क’ प्रदेशसभाका उम्मेदवार किरण थापाले खादा तथा टीका लगाएर एमालेमा स्वागत गर्नुभयो । नवप्रवेशीले भक्तपुरको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकाले एमाले प्रवेश गरेको बताए । गठबन्धनका दलहरु आफ्नो स्वार्थ पुरा गर्नमात्र दत्तचित्त भइ लागेको तर देश र जनताको पक्षमा काम गर्न नसकेकाले अबका दिनमा मुलुकमा एमालेको विकल्प नभएका बताए । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा एमालेले खेलेको भूमिकाकै कारण पछिल्लो समय नेपाली हुँ भनेर गर्व गर्न लायक बनेको उल्लेख गर्दै नवप्रवेशीले आगामी निर्वाचनमा एमालेलाई जिताउन जस्तोसुकै परिस्थितीको सामना गरि अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

नवप्रवेशीलाई स्वागत तथा राजनीतिक जीवन सफलता भकामना व्यक्त गर्दै नेता बस्नेतले नेपाल र नेपाली जनताको लागि गठबन्धन सरकार घाँडो भइसकेको उल्लेख गर्दै नेपाली जनताको पार्टी भनेको नै एमाले मात्र भएको उल्लेख गर्नुभयो । सरकारले राष्ट्रघाती नागरिकता विधेयकल्याई नेपाललाई सिक्कीमिकरण तथा फिजिकरण गर्ने प्रयास गरेको आरोप लगाउँदै उहाँले एमालेको सशक्त विरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्न रोक्नुभएको बताउनुभयो । सरकारले नागरिकता विधेयकमात्र नभई राष्ट्रको हित विपरित एमसीसी, एसपीपीलगायतका असंख्य गतिविधिहरु गरिरहेको भन्दै नेता बस्नेतले सरकारको उक्त कदमलाई रोक्नको लागि आगामी निर्वाचनमा एमालेको विकल्प नभएको बताउनुभयो । नवप्रवेशीलाई निर्वाचनमा होमिन निर्देशन दिँदै उहाँले आगामी दिनमा पार्टीले नवप्रवेशीलाई योग्यता, क्षमता तथा दक्षताको आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस