पौष २३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरेको बताएका छन् । शुक्रबार काठमाडौं महानगर कमिटीको घोषणा सभालाई सम्बाधोन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताए ।

‘केपीले हार स्वीकार गरेका छन्, पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘कसरी स्वीकार गरे छन्, उनको दम्भी स्वभावले त दिँदैन ।’ आजै एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको चुनावी परिणाम आफूहरुका लागि प्रतिकुल हुन सक्ने भन्दै त्यो पुरानो जनमतको दुरुपयोग भएकोको बताएका थिए।
नेपालले ओलीसँग देवत्वकरण गर्नेहरू मात्रै रहेको आरोप लगाए । ‘देवत्वकरण गर्ने मात्रै छन्,’ नेपालले भने, ‘भजनमण्डली छन् । त्यहाँ सिद्दान्त निष्ठ, आलोचनात्मक चेत भएका मानिस छैनन् । त्यहाँ पुजक प्रवृत्ति बोकेका, हनुमान प्रवृत्ति बोकेका मात्रै छन् ।’
त्यसकै कारण एमालेमा जिल्ला जिल्लामा विद्रोहको ज्वाला फैलिँदै गएको र एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको नेपालको दाबी छ।