• २०८३ असोज २८ गते बुधवार

उम्मेदवार हुन तोकिएको योग्यता अनिवार्य: आयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २०, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार हुन आयोगले तोकेको योग्यता अनिवार्य रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक हुनुपर्ने, २५ वर्ष उमेर पुरा भएको, कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बाल नरहेको हुनुपर्ने जनाएको छ ।

यसै गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भन्ने अन्य कुनै उम्मेदवार वा निजको प्रतिनिधिलाई लागेमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत समक्ष उजुरी दिन सकिने व्यवस्था छ । प्रत्यक्षतर्फ यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रेस विज्ञप्ति 2079.06.20

Sharing

प्रतिक्रिया दिनुहोस