पुस २०, पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा प्रकाशित प्रवाह बुलेटिन महासङ्घका केन्द्रीय महासचिव रोशन पुरी र शाखा अध्यक्ष रेखीराम रानाले विमोचन गर्नुभएको छ । पाल्पा शाखाको ३०औँ स्थापना दिवसका अवसरमा प्रकाशित बुलेटिन स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा देखिएका समस्या र समाधानसम्बन्धी लेख समावेश गरिएको छ ।
प्रवाहमा पाल्पाका सञ्चारमाध्यमको विवरण, महासङ्घका गतिविधि र सदस्यको विवरण समावेश गरी प्रकाशन गरिएको जिल्ला अध्यक्ष रानाले बताउनुभयो । स्थापना दिवसकै अवसरमा महासङ्घ पाल्पा शाखामा योगदान गर्ने संस्थापक र पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको थियो । महासचिव पुरी र शाखा अध्यक्ष रानाले १८ संस्थापक र दुई पूर्वअध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । पत्रकार मेघराज शर्माको नेतृत्वमा पत्रकार महासङ्घको शाखा स्थापना गरी पाल्पाली पत्रकारलाई संस्थागत गरिएको थियो । शाखाको नियमित गतिविधि प्रकाशन तथा प्रसारण गर्न सहजताका लागि वेबसाइट सञ्चालनमा ल्याइएको छ ।
महासचिव पुरीले प्रेस स्वतन्त्रता र नागरिकका हकअधिकारका पक्षमा महासङ्घ सधैँ लडिरहने बताउनुभयो । प्रेस स्वतन्त्रता रहेमात्र नागरिकका अधिकार सुनिश्चित हुने बताउँदै उहाँले आफूहरू प्रेस स्वतन्त्रताको पक्षमा उभिएको बताउनुभयो । संस्थापक अध्यक्ष शर्माले पाल्पा शाखा स्थापना गर्न २० सदस्य नपुगेर गुल्मीबाट एक पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाउनुभयो । उहाँले महासङ्घ पाल्पा शाखाका अध्यक्षहरूले केही न केही नमूना काम गरिरहनुभएको बताउनुभयो ।