पुस २०, काठमाडौँ । आगामी १२ माघका लागि तय भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म उम्मेदवारी दर्ताकाे समय तोकिएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार प्रदेश १ काे विराटनगर, २ काे जनकपुरधाम, बागमतीकाे हेटौँडा, गण्डकीकाे पोखरा, लुम्बिनीकाे घोराही, कर्णालीकाे वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ । भाेलि उम्मेदवारविरुद्ध उजुरीकाे कार्यसूची छ भने २२-२३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् ।
आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।