पुस १८, काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक क्षेत्रीले विरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवम् देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुन निर्देशन पनि दिनुभयो ।
उहाँले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाइ सङ्गठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन पनि आग्रह गर्नुभयो । सरुवा बढुवालगायत सेवा सुविधाका लागि सङ्गठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै उहाँले हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने सङ्गठनको ध्येय रहेको बताउनुभयो ।
उहाँले प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने जोड दिनुभयो । पदोन्नती हुनुभएका प्र्रहरी नायव महानिरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठले आफूलाई थप जिम्मेवारी बोध भएकाले जिम्मेवारीलाई हृदयदेखि मनन्गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।