पुस १७, काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत्को नयाँ वर्ष २०२२ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुशीयालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२२ सुरु भएको छ । यस अवसरमा शुक्रबार बेलुकीदेखि नै मानिस नयाँ वर्ष मनाउन भेला भएका थिए । इस्वी संवत्को नयाँ वर्ष भव्यरूपमा मनाइने अमेरिका एवं युरोपका देशमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण भीडभाड कम भएका बेला नेपालमा भने युवायुवती निस्फिक्रीसाथ उद्यान, रेष्टुरेन्ट, सभाहल, सांस्कृतिकस्थललगायत स्थानमा जम्मा भएर नयाँ वर्ष मनाइरहेका देखिन्थे ।
नेपालमा तीन जनामा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन पुष्टि भए पनि अझै सजगता नअपनाएको भन्दै कति मानिसले भने भीड बढ्न थालेकामा चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय सबै क्षेत्रमा भीडभाड बढ्न थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सजग गराउन उनीहरुले माग गर्न थालेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीलगायत सहरमा ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको खबर सार्वजनिक भए पनि नेपालको सीमा क्षेत्रमा सजगता नअपनाएका कारण अप्ठ्यारो अवस्था आउनसक्ने स्वास्थ्यकर्मी डा रोशन पोखरेल बताउनुहुन्छ । यसैले पर्व मनाउँदा रोगबाट बच्ने उपाय अपनाउन सरकारले आग्रहसहित आवश्यक परेका बेला नियन्त्रण नै गर्नुपर्ने उहाँको भनाइ छ ।