पौष १६, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्।

समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ। सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको हो ।
राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको महामन्त्री धवलशमशेर राणाले बताए। ‘कसरी मिलाउने भन्नेमा समय लाग्न सक्छ,’ राणाले भने।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन्।
एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।