भदौ, १५ पोखरा । गण्डकी प्रदेशसभामा माधव कुमार नेपाल पक्षका सांसद्ले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सहभागिता नजनाउने भएका छन्। नेकपा (एमाले)मा रहँदा नेपाल पक्षमा रहेका सांसद् इन्द्रलाल सापकोटाले नेपाललाई साथ नदिने भएका हुन्।
एमालेका २७ प्रदेशसभा सदस्यमा सापकोटा माधव पक्षका एक मात्र सांसद् थिए। सापकोटाको साथ छुटेपछि प्रदेश सभामा एकीकृत समाजवादीका कोही पनि सांसद् हुने छैनन्।
उसो त सापकोटा एमाले अध्यक्ष केपी ओलीकै पक्षमा रहने आशंका गरिएको थियो। उनी पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकटका हुन्। प्रदेशमा सत्ताको दाउपेच चलिरहँदा सापकोटाले गुरुङलाई विश्वासको मत दिएका थिए।
ओलीकै पक्षमा रहने आशंका भएपनि सापकोटाले यस विषयमा कुरा भने गरेका थिएनन्। तर, माधव नेपालले नयाँ पार्टी खोलेपछि सापकोटा एमालेमै रहेने भएका हुन्।
बागलुङका जिल्ला अध्यक्ष समेत रहेका सापकोटाले एकीकृत समाजवादी पार्टीमा नरहने जानकारी जिल्ला र केन्द्रका नेतालाई दिइसकेका छन्।
‘उहाँ पहिलेदेखि माधव नेपालले खोलेको विचार समूहमा पनि हुनुहुन्थेन, बीचमा बस्नुभाथ्यो’, कास्कीका नेपाल पक्षका एक नेताले भने, ‘उतै उतै जानुभो हामीसँग सम्पर्क नभएको त ४/५ महिना भइसक्यो।’
१० बुँदे सहमतिको बहानामा मध्यमार्गी नेताहरू जसरी ओली पक्षमा लागे त्यसैगरी सापकोटाले साथ छोडेको उनले बताए। विचार सिद्धान्त र प्रलोभन अनुसार एक दुई जना आउने र जाने क्रमलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ।
साथै, उनले ओली पक्षका नेताहरुले प्रलोभन, डर र धम्की देखाएर ओली पक्षमा नेताहरू राखेको आरोप लगाए।
‘प्रलोभन दिने, दबाब दिने, पद दिने, पैसा बाँड्ने, केही नलागेमा धाकधम्की नि दिने काम गरिराख्नु भाछ’, उनले भने, ‘हामीलाई नि फोन गरेर विभिन्न प्रलोभन दिनुभएको छ, हामी विचार र सिद्धान्तमा रहन्छौँ, पद प्रतिष्ठा र स्वार्थ पूरा गर्न जादैनौँ।’