जेठ १७, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ ।
सोमबार मन्त्री ढकालले न्युज एजेन्सीसँग कुरा गर्दै नेकपा (एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको दावी गर्नुभयो । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उहाँले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप लगाउनुभयो ।
“दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ! यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन ।”
ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै मन्त्री ढकालले सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।