पौष १५, खोटाङ । खोटाङमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गुराँसेमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार साकेला गाउँपालिका–२ रतन्छाका ६२ वर्षिय काजीमान राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका २६ वर्षिय नारायण बस्नेत, उनकी श्रीमती २१ वर्षिय निर्मला बस्नेत, केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका ३३ वर्षिय बिनाराम राई, उनकी ३२ वर्षिय श्रीमती शारदा राई, उनकै १ वर्षीय छोरा सोमराज राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका ४२ वर्षिय डिबी खड्का घाइते भएका छन् ।
घाइतेमध्ये काजीमानको अवस्था गम्भीर रहेको छ । उनको दाहिने हातको तीन औला छिनालिएको इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले जनाएको छ । उनको ॐबाबा पोलिक्लिनिक हलेसिमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै चालक फरार छन् । अनियन्त्रित बनेको जिप सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।