जेठ १६, काठमाडौँ । अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८र०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।’
मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा द्विविधा राख्नुपर्ने छैन ।