असोज १३, तुलसीपुर । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुुरको फिजिओ थेरापी सेन्टर समस्याका कारण पूर्ण रुपमा चल्न सकेको छैन । भवन निर्माण भएको र केही सामग्री ल्याइएको छ । केही सामग्री ल्याउन बाँकी छ । आर्थिक अभावले गर्दा अहिले सेवा पूर्ण रुपमा सूचारु हुन नसकेको केन्द्रका अध्यक्ष हुमकान्त कँडेलले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी तुलसीपुर उपमहानगरपालिका–६ गाईडमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो ।“अझै हामीले पूर्णरुपमा सञ्चालनमा ल्याउन सकेका छैनौँ”, अध्यक्ष कँडेलले भन्नुभयो,“आर्थिक अभाव छ, धेरै सामग्री ल्याउनुपर्ने छ, त्यसका लागि सहयोगी दाताको अपेक्षा गरेका छौं ।” केही टेबल, कुर्सी, शौचालयमा टायलसमेत राख्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।फिजियो थेरापीका लागि प्रभावकारी हल पनि छैन । करिब ३÷४ लाख भए सबै काम पूरा हुने उहाँले बताउनुभयो । निजी अस्पतालमा महँगो शूल्क लाग्ने र अपाङ्गता भएका व्यक्तिले यो सेवा लिन नसक्ने भएकाले सहजताका लागि आफैले थेरापी सेन्टर सञ्चालनमा ल्याएको महासचिब दोलखबहादुर खत्रीले बताउनुभयो ।
यसबाट अपाङ्गता भएका व्यक्ति बाहेकले पनि सेवा लिनसक्ने उहाँको भनाइ छ । करिब ३० लाख लागतमा थेरापी सेन्टरका लागि भवन निर्माण भएको हो ।महायज्ञबाट सङ्कलन भएको रकम तथा तीनै तहको सरकारको सहयोगमा भवन निर्माण भएका हो । साथै केही समयमा अपाङ्गता भएका व्यक्तिीका लागि आफ्नै हस्पिटल खोल्ने समेत तयारी रहेको छ । त्यसका लागि जग्गा खोजी भइरहेको अध्यक्ष कँडेलले बताउनुभयो । हस्पिटल सञ्चालनमा ल्याएर कृत्रिम हात, खुट्टा बनाउने तयारी रहेको उहाँको भनाइ छ ।