जेठ १५, काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएको जानकारी दिएका हुन् ।

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइएको छ । दुई हजार रुपैयाँका दरले तलब बढेसँगै मुख्यसचिवको तलब ६७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । सरकारका सचिवको तलब ६२ हजार ६ सय ७५, सहसचिवको ४९ हजार तीन सय ७७ र उपसचिवको ४२ हजार तीन सय ७७ रुपैयाँ पुगेको छ ।
यस्तै, अधिकृतको तलब ३७ हजार नौ सय ९९, नायब सुब्बाको ३० हजार दुई सय, खरिदारको २८ हजार ६ सय चार र कार्यालय सहयोगीको तलब २४ हजार आठ रुपैयाँ पुगेको छ ।