पौष १३, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताउनुभएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा आज यहाँ आयोजित प्रदेश १ को ‘दीर्घकालीन आर्थिक विकास, लगानी प्रवद्र्धन र निजी क्षेत्रको भूमिका’ प्रथम कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मानवको विकास हुनु जरुरी छ भत्रुभयो ।

ज्ञान, विज्ञान र शिक्षा मानवको लागि हो भन्दै मुख्यमन्त्री राईले मानिसलाई केन्द्र विन्दु बनाएर गरेको विकासले राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो । उहाँले समतामूलक समाज निर्माण गर्न विकास सबैतिर पुग्नुपर्ने विचार राख्दै विकासमा आमजनतालाई पनि अंशियार बनाउनुपर्ने धारणा राख्नुभयो । सबै ठाउँको विकास गर्नु नै सङ्घीयता हो भन्दै मुख्यमन्त्री राईले ठाउँ केन्द्रित विकासले शहरको जनघनत्व बढाएको चर्चा गर्नुभयो ।
मुख्यमन्त्री राईले खानी, जलविद्युत, जलयातायातजस्ता क्षेत्रमा लगानी गरेर प्रशस्त आम्दानी गर्न सक्ने भन्दै लगानी गर्दा ऐन नियममा देखिने त्रुटिलाई फुकुवा गर्न प्रदेश सरकारले सहयोग गर्ने वचन दिनुभयो । उहाँले पूर्वाधार विकास मात्र नभएर शिक्षा र स्वास्थ्यमा लगानी गर्न उत्सुकता देखाउनुपर्ने भन्दै सरकारको बजेट कम भएकाले विकासमा निजी क्षेत्रको महत्व छ भत्रुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना सचिव सुमन दाहाल, प्रमुख सचिव रामप्रसाद घिमिरे, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउत, लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइराला, एशिया फाउण्डेशनका आश्रय पाण्डेलगायतले लगानी बोर्डको महत्व एवम् उपादेयता माथि प्रकाश पार्नुभएको थियो ।