पौष १३, पोखरा । गण्डकी प्रदेशमा अब १२ वटा मन्त्रालय भएका छन्। प्रदेश सरकारले कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय संख्या बढाएको हो।
गण्डकीमा मन्त्रीको संख्या भने यसअघि नै १२ छ। सबै १२ मन्त्रीलाई विभागीय जिम्मेवारीका लागि सरकारले मन्त्रालयसमेत बढाएको हो। १२ मन्त्रीमध्ये डोबाटे विश्वकर्मामात्रै विना विभागीय मन्त्री छन्। उनलाई पनि एउटा मन्त्रालय दिने गरी मन्त्रालय १२ पुर्याएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद अन्तर्गतै रहेको आन्तरिक मामिला मन्त्रालयलाई छुट्टै बनाउने गरी कार्यविभाजन नियमावली संशोधन भएको छ। डोबाटेलाई त्यही आन्तरिक मामिला दिन सक्ने सम्भावना छ। तर मन्त्रिपरिषदनिकट एक स्रोत भन्छ, ‘मन्त्रीहरुको कार्यविभाजन हेरफेरसमेत हुनसक्छ र डोबाटेलाई आन्तरिकको सट्टा अर्के मन्त्रालय पनि पर्न सक्छ।’
धेरै मन्त्री बनाएर राज्यलाई भार बढाएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको आलोचना भएको छ। यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रिपरिषद ७ सदस्यीय थियो। कार्यकालको अन्तिमतिर आएर उनले १ जना थपी ८ सदस्यीय बनाएका थिए।