कात्तिक ११, काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिरमा गर्न लागेको दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने भएको छ । बिहीबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११ सय ९६ जना प्रतिनिधि छानिने छन् । बाँकी गैर भूगोलबाट ३४० जना गरी कुल १५ सय ३६ प्रतिनिधि छानिने ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेका हाल ७ लाख २१ हजार पार्टी सदस्य रहेको र उनीहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिने ज्ञवालीले बताए । १०औं राष्ट्रिय महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि उनले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।