असार १४, काठमाडौँ । गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तराष्ट्रियस्तरको बनाउनुपर्ने बताउनु भएको छ । आज अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यूआर कोड सहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले भन्नुभयो , ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एअरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरू थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामका बारेमा योजना निर्माण गर्दै जाऔँ ।’
मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका र यसको प्रतिष्ठालाई माथि उठाउनका निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिनु भएको छ ।