असार १४, काठमाडौँ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।
उक्त प्रावधान अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरी सीधै गन्तव्यस्थलमा जान अनुमति दिइने भएको छ ।
यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे-नबसेको अनुगमन गर्ने भएको छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको थियो । विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ नतिजा आएको रिपोर्ट साथमा बोक्नुपर्नेछ ।