असार १४, काठमाडौं । नेपाल खेलकुद महासंघले २५० जना राष्ट्रिय खेलाडीलाई कोरोना खोप लगाएको छ । उनीहरुलाई चीनबाट ल्याइएको भेरोसेल खोप लगाइएको हो ।

नेपाल सरकारसँग समन्वय गरेर उनीहरुलाई खोप लगाइदिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले बताए । खेलकुद महासंघले नेपाली खेलाडीका लागि ५ हजार डोज खोप माग गरेकोमा पहिलो चरणमा २५० डोज उपलब्ध भएको महासंघका उपाध्यक्ष एवं खोप कार्यक्रम संयोजक सुभाष श्रेष्ठले बताए ।

खोप लगाउनेमा जापानमा हुन गैरहेको ओलम्पिक प्रतियोगितमा सहभागी हुनेहरुलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसै गरी बन्द प्रशिक्षणमा रहेको भलिबलको राष्ट्रिय टिमका खेलाडीलाई पनि पहिलो प्राथमिकता दिएर खोप लगाइएको बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अरुणा शाही, प्रतिक्षा माली, बिराज श्रेष्ठ लगायत २५० जनाले पहिलो डोज खोप लगाएका हुन् ।