असार १४, जाजरकोट । शिवालय गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सव इन्जिनियरमाथि हातपात गरेका छन्। वडा नम्बर ७ का वडाध्यक्ष बीरबल खत्रीले सोही वडामा कार्यरत सव–इन्जिनियर रविन्द्रबहादुर शाहीमाथि आइतबार कार्यकक्षमै कुटपिट गरेका हुन्।
वडाध्यक्ष खत्रीले आफ्नो वडा भन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्की समेत दिएको शाहीले बताए। शाहीको मुखमा समेत चोट लागेको छ।
सब इन्जिनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन्। घटनाको विरोधमा शिवालय गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले दोषीमाथि कारवाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन्।
राष्ट्र सेवामा कटिबद्ध रहेको कर्मचारीमाथि निजले कारणबस कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानुनी बाटो हुँदाहुँदै पनि मरणसन्न हुने गरि कार्यालय समयमा एक राष्ट्रसेवक कर्मचारीमाथि यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल गिरेको छ। सो कार्य प्रति हामी पेनडाउन गरेर सशक्त आन्दोलनमा उत्रिन बाध्य भएको जारी विज्ञप्तिमा भनिएको छ।