• २०८३ मङ्सिर १२ गते शुक्रवार

प्रचण्ड-माधव समूहले आज बुटवलमा विरोध सभा गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, बुटवल। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

दिउँसो १ बजे शुरु हुने विरोध सभालाई पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने छन् । मौसम प्रतिकूल भएर विमानस्थलबाट उडान प्रभावित भएमा प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत बुटवल आउने प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, पूर्व–दक्षिणतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छन् । सभामा साविक लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दावी छ ।

गोलपार्कबाट हुने जुलुसको नेतृत्व केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्नेछन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले तथा जितगढी किल्लाबाट शुरु हुने जुलुसको नेतृत्व स्थायी समिति सदस्य चक्रपाणी खनाल (बलदेव), ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस