• २०८३ भाद्र ६ गते शनिवार

वैदेशिक रोजगारमा जाने कामदारलाई खोप दिन दुई अस्पताल तोकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदार र अध्ययनका लागि जाने विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन दुई वटा अस्पताल तोकेको छ ।

रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने विषयमा सरकार असंवेदनशील भएको गुनासो आइरहेका बेला सरकारले सोमबार उनीहरुका लागि दुई वटा केन्द्र तोकेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जाने कामदार र विद्यार्थीहरुले प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउन सक्ने जनाएको छ । खोप लगाउनु अघि पासपोर्ट, श्रम स्वीकृति र भिसा अनिवार्य रुपमा देखाउनुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तत्कालका लागि सीमित केन्द्र तोकिए पनि खोप कार्यक्रमलाई पूर्णरुपमा विकेन्द्रित गरेर प्रदेशस्तरबाटै उनीहरुलाई खोप लगाउन सक्ने प्रवन्ध छिट्टै मिलाइने बताएका छन् । उनले खोप कार्ड पनि प्रदेशस्तरबाटै पाउने व्यवस्था गरिने बताएका छन् ।

कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई खोप दिएका देशहरुले बाहिरी मुलुकहरुबाट आफ्नो देशमा प्रवेश गर्नेहरुलाई आफ्नो देशले मान्यता दिएको कोरोनाविरुद्धको खोप अनिवार्य गरेका छन् ।

यसअघि आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा एक महिना भित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउने विषयमा सहमति गरेका थिए । जोन्सन एण्ड जोन्सनको खोप एक पटक लगाए पुग्छ भने भेरोसेल कम्तीमा तीन हप्ताको अन्तरालमा दुई पटक लगाउनु पर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस