असार १३, काठमाडौं । जातीय छुवाछुतको सिकार हुँदा आफूमाथि अफवाह फैलाएको भन्दै रूपा सुनारले ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्। ती अनलाइनलाई उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि माग गरेकी छिन्।
उनले नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया २० पोस्ट, आजको नयाँ, ग्लालेक्सी सेभेन एक्सप्रेस, साझा मिडिया र नेपाल पहरा डटकमविरूद्ध उजुरी दिएकी हुन्। अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख गरिएको छ।
ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आरोप लगाएको छ । उनले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ । मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’
