पुस ११,काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ। आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो।कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ।
प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ।सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भए पनि महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए।
महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको महराले बताए।
महाधिवेशनमा रूपान्तरणसागै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ।