भदौ, १० महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्ट माधव नेपालको नयाँ पार्टी नेकपा एकिकृत समाजवादी बाहिर बसेका छन् । नयाँ दल दर्ता प्रक्रिया अघि बढेपछि नेपाल समूहका भट्ट बाहिरका थिए ।
सांसद भट्ट सहित सुदूरपश्चिमबाट एमाले उपाध्यक्ष भीम रावल, कैलालीका झपट रावल नयाँ दल बाहिर देखिएका छन् । सुदूरपश्चिममा एमालेभित्र रावलको वर्चश्व रहने गरेको छ ।
सांसद भट्ट यस अघि २०५४ मा एमाले विभाजन हुँदा नेकपा मालेतिर लागेका थिए । विद्यार्थी राजनीतिबाट आएका उनी एमाले वैदेशिक र सुरक्षा मामिलाका जानकार मानिन्छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ मा एमालेले सांसद भट्टले २३ वर्षपछि जित दिलाएका थिए । एमाले माओवादीको वाम गठबन्धनका उम्मेदवार भट्टले २०५६ सालदेखि निरन्तर सत्ता निकट रहेका कांग्रेसका उम्मेदवार पूर्व मन्त्री रमेश लेखकलाई हराएका थिए ।
२0५१ को मध्यावधि निर्वाचनपछि एमाले कञ्चनपुरमा पराजय व्यहोर्दै आएको थियो । निर्वाचन क्षेत्र नं. १ र २ को तुलनामा ३ नम्बर क्षेत्र एमालेलाई सबैभन्दा चुनौतीपूर्ण हुने गरेको थियो । सांसद भट्टले राजनीतिक रुपमा एमालेलाई अत्यन्न चुनौतीपूर्ण मानिएको ३ नम्बर क्षेत्रमा एमालेलाई जित दिलाएका थिए ।
२०५१ को मध्यावधिमा एमालेले कञ्चनपुरका सबै निर्वाचन क्षेत्र जितेको थियो । अहिले नेकपा एकीकृत समाजवादी भएका पूर्व एमाले नेता उर्वादत्त पन्त मध्यावधि निर्वाचनमा निर्वाचित भएका थिए । उनीसित काँग्रेसका पूर्व मन्त्री एनपी साउँद पराजित भएका थिए ।
एमाले विभाजन भएपछि २०५६ को आम निर्वाचनमा पन्त लेखकसँग पराजित भएका थिए । त्यसपछि २०६५ को संविधान सभाको पहिलो निर्वाचनमा एमालेका राजेन्द्र सिह रावल र निरुदेबी पाल पराजित भएका थिए । कांग्रेसले चुनाव हार्ने देखेपछि काँग्रेस सभापति शेर बहादुर देउवालाई चुनाव लडाएको थियो । पछि देउवाले क्षेत्र छाडेपछि उप निर्वाचनमा एमाले साँसद पाल पराजित भएकी थिइन् । माओवादी केन्द्रका नेता हरिश ठकुल्ला निर्वाचित भएका थिए ।
कांग्रेसका नेता पूर्व मन्त्री लेखक २०६४ को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएका थिए । देउवाले छाडेपछि कांग्रेसका यज्ञराज जोशी चुनाव लडेका थिए ।
२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा फेरि एमालेबाट चुनाव लडे । कांग्रेसका पूर्व मन्त्री लेखक निर्वाचित भएका थिए । उनी निर्वाचित भएपछि भौतिक पूर्वाधार मन्त्री समेत बने ।
चर वर्षपछि भएको आम निर्वाचनमा डा. भट्टले लेखकलाई पराजित गरी उनलाई १८ वर्षे सत्ता यात्राबाट बाहिर पठाएका थिए । लेखक माओवादी शान्ति वार्तामा आएपछि बनेको तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा समेत मन्त्री भएका थिए ।
आम निर्वाचनमा सांसद भट्टले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका कांग्रेसका गढ भत्काएका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेस निर्वाचित वडामा सांसद भट्टले दबदवा बनाएका थिए । दोधारा चाँदनीमा सांसद भट्टले लेखकको हाराहारी मत पाएका थिए ।
सांसद भट्टलाई बौद्धिक व्यक्तित्व भएको नेताका रुपमा मतदाताले रोजेका थिए । कांग्रेसले सांसद भट्टलाई लेखकसँग तुलना नै गर्न नमिल्ने भन्दै चुनाव प्रचार गरेको थियो ।
सांसद भट्ट नयाँ दलमा नभएपछि पूर्व मालेका नेताहरु एकै साथ देखिने अवस्था आउन सक्ने सम्भावना छ । कञ्चनपुर क्षेत्र नं. २ का सांसद नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व राज्यमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट लगायतका पूर्व माले धारका नेताहरु एक ठाउँमा हुन सक्ने सम्भावना छ ।
नेपाल समूहका पूर्व राज्यमन्त्री रावल अहिले नयाँ दललाई साथ नदिने निष्कर्षमा पुगि सकेका छन् । भीमदत्तका मेयर विष्टले यस अघि नेपाल समूह छाडेर एमाले संस्थापन भई सकेका छन् । सांसद धामी पहिलादेखि संस्थापनमा छन् ।
नेपाल समूहका सांसद भट्ट पनि नयाँ दलमा नगएपछि पूर्व माले सबै एकै ठाउँमा देखिने आंकलन गरिएको छ । पूर्व उप सभामुख भोजराज जोशी, अनुशासन आयोगका गोविन्द कलौनी, खेम सुवेदी लगायतका नेताहरु अहिले एमाले संस्थापनमा सक्रिय छन् ।
कैलालीकी मदन कुमारी शाह ‘गरिमा’, कञ्चनपुरका रामकुमार ज्ञवाली, डडेल्धुराकी निरादेवी जैरु र विक्रम शाही र डोटीका प्रेम बहादुर आलेले एकीकृत समाजवादीको पक्षमा सनाखतमा गरेका छन् ।