श्रावण ११, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद आज टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराएरै आधिकारिकता टुंगो लगाउने भएको हो ।

सनाखतका लागि कार्यकारिणी सदस्यहरुलाई आयोगको कार्यलयमा बोलाइएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षमा वहुमत रहेका कारण उनले आधिकारिकता पाउने सम्भावना बलियो छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा रहदा जसपा २ पक्षमा विभाजित भएको थियो । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबी ओलीलाई साथ दिने र नदिने पक्षमा मत विभाजित भएको थियो ।
त्यसपछि जसपामा आधिकारिकताको विवाद सुरु भएको थियो । उक्त विवाद समाधानका लागि निर्वाचन आयोगले ५ सदस्यीय इजालस गठन गरेको थियो । सो इजालसले सबै कार्यकारिणी सदस्यलाई आयोगमै उपस्थित भएर सनाखत गराउन आदेश दिएको थियो ।
त्यसपछि अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।