चैत १३, काठमाडौं। सवा दुई अर्बको भ्रष्टचार मुद्धा खेपिरहेका कालिका कन्स्ट्रक्सनकाका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डेले पुनः साढे १६ अर्बको ठेक्का पाएका छन् । विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको सिक्टा सिँचाए आयोजनासम्बन्धी भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्वमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाका लागि १६ अर्ब ६२ करोड रूपैयाँ नयाँ ठेक्का पाएका हुन्।
तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण गर्नेलगायतका संरचना निर्माणका लागि भियतनाम–कालिका कन्स्ट्रक्सन कम्पनीका तर्फबाट पाण्डेले ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका छन् । १६ अर्ब ६२ करोड रूपैयाँ (करबाहेक) मा तनहुँ हाइड्रोपावर लिमिटेड र सोङ्ग दा–कालिका जेभी कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको देखिएको छ। आयोजनाका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र ठेक्का कम्पनीको तर्फबाट विक्रम पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यान्वयनमा आएको करिब ५ वर्षभित्र ठेकेदार कम्पनीले निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा भनिएको छ । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका पूर्वमन्त्री पाण्डे राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका थिए ।
उनीविरुद्ध आयोजनाको मूल नहर भत्किदा डिजाइनमा त्रुटी, नहर भत्किदा पुर्नपरीक्षण नगरिएको, नहर निर्माणका लागि गुणस्तरविनै सम्झौता तयार भएको, ५० घनमिटर पानी धान्न सक्ने भनिएको नहर पटक पटक भत्किएकोलगायत अभियोगहरु रहेका छन् ।