• २०८३ बैशाख ४ गते शुक्रवार

काठमाडौँको सयौं रोपनी सार्वजनिक जग्गा माफियाको कब्जामा (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

चैत १२, काठमाडौँ। सरकारले काठमाडौँका महत्वपूर्ण स्थानका सरकारी रसार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हालै सरकारीरसार्वजनिक जग्गाको अवस्थाबारे अनुसन्धान गरेको थियो । त्यसक्रममा सयौं रोपनी सरकारीरसार्वजनिक जग्गामा भूमाफियाले भोगचलन र दर्तासमेत गरेको फेला परेको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टले भूमाफियाहरूले सरकारी जग्गा हडपेको अनुसन्धानबाट देखिएको बताए । उनले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कामलाई जिल्ला प्रशासन कार्यालयले तदारुकताका साथ अगाडि बढाउने बताए । प्रतिवेदनले समेटेका जग्गामा बनाइएका संरचना स्थानीय तहसँगको समन्वयमा हटाइने उनले बताए ।

‘केही अतिक्रमित संरचना हटाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘तिनको अवस्था विषयमा बुझ्छौं र त्यस्ता अतिक्रमित संरचना हटाउन प्राथमिताका साथ लाग्छौं ।’ अतिक्रमित सरकारीरसार्वजनिक जग्गा कानुनअनुसार संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उनले बताए । प्रतिवेदन अनुसार अनामनगरस्थित धोबीखोला करिडोरअन्तर्गतको सार्वजनिक जग्गा इन्द्र चाम्लिङले अतिक्रमण गरेको देखिएको छ । उक्त ठाउँमा रहेको सार्वजनिक जग्गामा चाम्लिङले घरटहरा बनाई भाडामा दिएका छन् । प्रचलित कानुनअनुसार सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर भाडामा लगाउनु ठगी हो । उनले सार्वजनिक जग्गामा निर्माण गरेको संरचनाबाट मासिक लाख रुपैयाँभन्दा बढी भाडा उठाउने गरेका छन् । चाम्लिङले काठमाडौं महानगरपालिका सिट नम्बर ११४६–०२ अन्तर्गत कित्ता नम्बर ५४९ लगायतका जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै धोबीखोला करिडोरअन्तर्गतकै काठमाडौँ महानगरपालिका–१०, देवीनगरमा अष्टमान महर्जनले आफ्नो घरसँगै रहेको सार्वजनिक जग्गामा सटर निर्माण गरी भाडामा लगाएका छन् । बानेश्वरमा पनि कर्मचारी र भूमाफियाको मिलेमतोमा ललितादेवी पराजुलीको नाममा सरकारी जग्गा दर्ता गराइएको पाइएको छ । अनामनगरस्थित कित्ता नम्बर १० को एक रोपनीभन्दा बढी जग्गा टेकबहादुर पौडेल, कुलबहादुर निरौलालगायतले अतिक्रमण गरी निजी स्कुल सञ्चालन गरिरहेको प्रतिवेदनमा खुलाइएको छ । भीमसेनगोलामा रहेको सरकारी तथा सार्वजनिक जग्गा कुलरत्न कंसाकारसमेत गरी ९ जनाको नाममा दर्ता गराइसकेको तथ्य पनि अनुसन्धानबाट फेलापरेको छ ।

बालुवाटारस्थित करिब ३ रोपनी सरकारी जग्गा पनि विभिन्न व्यक्तिले अतिक्रमण गरी घरटहरा बनाएको प्रतिवेदनमा उल्लेख छ । डल्लुमा राजकुलो अतिक्रमण गरी घरटहरा निर्माण गरी हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको अनुसन्धानले देखाएको छ । सरकारको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका–१०, वाग्मती नदी क्षेत्रको कित्ता नम्बर ४३९ र कित्ता नम्बर ४४१ को जग्गा पनि भूमाफियाले अतिक्रमण गरेका छन् । बालाजुमा पनि करिब ३ रोपनी सरकारी जग्गा अतिक्रमण गरिएको छ ।

यसैगरी चाबहिलस्थित करिब दुई रोपनी सरकारी जग्गा दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरले अनधिकृत कब्जा गरी त्यसमा भवन बनाएर अस्पताल सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सामाखुसी खोला किनारमा रहेको सार्वजनिक जग्गापनि अतिक्रमणमा परेको छ ।

टेकुको सिट नम्बर १०२–११८३–११ को कित्ता नम्बर १२६ को सार्वजनिक जग्गा हालसाबिक गर्दा व्यक्ति विशेषको नाममा दर्ता गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनसँगै जोडिएको राधाकृष्ण देवस्थानलगायतको जग्गा पनि अतिक्रमणमा गरिएको छ ।

त्यस्तै विश्व हिन्दु महासंघ केन्द्रीय कार्यालय, बाँसबारीका पदाधिकारीले संस्थाको ३ रोपनी ६ आना जग्गा हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । गोकर्णेश्वर नगरपालिकास्थित गोकर्ण मन्दिरको पश्चिमतर्फ सहयोगी माविअघिको सरकारी जग्गामा पनि व्यक्तिले घर बनाउँदै गरेको पाइएको छ ।

प्रतिवेदनमा कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा कित्ता नम्बर २६४, २७०, २६६, २९० समेतको सार्वजनिक जग्गा अतिक्रमण गरी ज्ञानेन्द्र फुम्पलसमेतले प्लटिङ गरिरहेको उल्लेख छ । सोही स्थानमा रहेको १० रोपनी सार्वजनिक जग्गामा त्रिकोण स्कुलले टहरा बनाएर उपभोग गर्दै आएको छ । मूलपानीकै खरिबोट बाल उद्यान तथा बास्केटबल कोर्ट निर्माण स्थलसँगैको कित्ता नम्बर ४९ र ५० को सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाइएको छ ।

नागर्जुन नगरपालिकास्थित खोला, वन र राजकुलो कालुराम पुनलगायतले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । भीमढुंगा बसपार्कसँगै जोडिएको करिब २ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाएको पाइएको छ । रामकोटमा रहेको करिब ३ रोपनी जग्गा प्लटिङ गर्दा कित्ता सारेर अतिक्रमण गरिएको छ । टोखा नगरपालिका–५, स्थित सरकारी जग्गा वडासचिव सानु श्रेष्ठ र प्राविधिक विजेन्द्र श्रेष्ठको मिलेमतोमा अतिक्रमण गरिएको प्रतिवेदनमा लेखिएको छ ।

धापासीस्थित विष्णुमती नदी किनारको जग्गामा सिडी डेभलपर्स प्रालिले ग्रान्ड टावरलगायतका संरचना निर्माण गर्दा शिवओम पुडासैनीको मिलेमतोमा सार्वजनिक जग्गा हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । धापासीमा नै नापीका पूर्वकर्मचारी केदार पोखरेलले सार्वजनिक चौर मिची ज्वाइँका नाममा दर्ता गराएका छन् । टोखास्थित वन क्षेत्रको जग्गा पनि भूमाफियाले अतिक्रमण गरेका छन् ।

मण्डिखाटारस्थित राधाकृष्ण मन्दिर वरपरको सिट नम्बर १०२–०९८७–०९ को कित्ता नम्बर ९३ को करिब २४ रोपनी जग्गा अतिक्रमणमा परेको छ । चपलीमा हरिबहादुर श्रेष्ठले प्लटिङ गर्दा खोलाको जग्गा अतिक्रमण गरेको पाइएको छ । बूढानिलकण्ठ–९ मा शोयल कार्की एस के भेन्चरले सरकारी जग्गा प्लटिङ गरी बेच्न लागेको प्रतिवेदनमा छ ।

चन्द्रागिरी नगरपालिकास्थित एपोलो इन्डष्ट्रिजले सार्वजनिक बाटो अतिक्रमण गरेको छ । थानकोटमा करिब ३ रोपनी जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएको छ । शंखरापुर नगरपालिका–३, सुनटोलमा बेकुनारायण श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण गरेर घरटहरा निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले अतिक्रमित जग्गा संरक्षण गर्न र सरकारको स्वामित्वमा ल्याउन सुझाव दिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस