माघ ११, पर्सा । वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई वीरगञ्ज– १ छपकैयाकी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए ।
सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने प्रहरीले जनाएको छ ।