मंसिर ७, कपिलवस्तु । विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।
जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको स्पष्ट पारे ।
क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।
