भदौ ७, काठमाडौँ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएको छ । सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको हो ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले आजमात्र प्रतिवेदन बुझाएको हो ।
समायोजनको मुख्य मुद्दाले क्रियाशील समस्या गाँठो परेको थियो। छानविन समितिका सदस्य डा। मिनेन्द्र रिजालले भने, ‘केही मापदण्डका आधार तय गरेका छौँ। मापदण्डअनुसार अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाले पनि क्रियाशील सदस्यता पाउने गरी विवाद अन्त्य भएको छ।’