काठमाडौं, ८ साउन । पाल्पामा वैकल्पिक विद्युत् लाइन जडानसँगै विद्युत अनियमितताको समस्या हटेको छ। १० वर्षदेखि प्रायः समय अँध्यारोमा बस्नुपर्ने यहाँका उपभोक्ताको बाध्यता हटेको छ।
अहिले यहाँका नागरिक खुसी भएका छन्। गएको बुधबार अर्थात् साउन ६ गतेदेखि जडान गरिएको हो। बुटवल पावर कम्पनीले संचालन गरेको स्याङ्जाको गल्याङस्थित आँधिखोला पावर हाउसबाट विद्युत लाइन जडान गरिएको छ।
हाल संचालनमा रहेका बुटवलदेखि आउने लाइनमा समस्या भए यहाँका उपभोक्तालाई तत्काल गल्याङको विद्युत वितरण गरिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पाका प्रमुख सुशील पौड्यालले बताए।
यसअघि हप्तामा अधिकांश दिन यहाँका उपभोक्ता अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो। केही दिनअघि मात्र बुटवल–पाल्पा लाइनको बसन्तपुरखण्डमा अविरल वर्षासँगै आएको पहिरोले टावरको सम्पूर्ण संरचना नै क्षतिग्रस्त बनाएको थियो। यसको मर्मत गर्न ३ दिन लागेको थियो। यी दिनमा यहाँका उपभोक्ता अँध्यारोमा बस्नु परेको थियो। यस क्षेत्रमा यस्ता प्रकारका समस्या र क्षति प्रायः हुने गर्दछ।
दिउँसोमा समेत विद्युतमार्फत हुने काम प्रभावित हुने गरेको थिए। सामान्य हावाहुरी वा वर्षात् हुन थालेपछि यहाँको विद्युत अवरूद्ध हुने गर्दथ्यो। ४÷५ दिनसम्म विद्युत आपूर्ति बन्द हुने गरेको थियो। लोडसेडिङ नभएपनि दैनिक प्रायः ५ घण्टाबढी बिजुली जाने गर्दथ्यो।
पाल्पामा विद्युत् वितरणका लागि रुपन्देहीको योगिकुटी शवस्टेसनदेखि चौराह शवस्टेसन हुँदै करिब ४० किलोमिटरको दूरीमा ३३ केभि लाइनमार्फत वितरण हुँदै आएको छ। जंगल र भीर पाखाबाट विद्युत लाइन विस्तार गरिएको छ। जब सामान्य हावाहुरी र वर्षात् हुन थाल्छ तत्काल बिजुली जान्छ। पहिरो जाने, रुख ढलेर तारलाई भुइँमा लतार्ने र पोलसमेत ढल्ने जस्ता समस्याले पाल्पाका उपभोक्ता अधिकांश समय विद्युतबाट बञ्चित हुने परेको थियो।
‘यस क्षेत्रमा आइपरेको समस्या समाधान गर्न निकै कठिन छ’ पौड्यालले भने ‘वनजंगल क्षेत्र भएकाले पहिलो कुरा फल्ट पत्ता लगाउन समय लाग्छ। त्यसपछि मर्मत गर्न समय लाग्ने गरेको छ।’ बिग्रिएको ठाउँमा सामग्री लैजान समेत कठिन भइरहेका उनले बताए। राजमार्ग छेउ वा कुनाबाट विद्युत लाइन विस्तार गरिएको भए यो समस्या नहुने उनले बताए।
वैकल्पिक विद्युतबाट फाइदै फाइदा
गल्याङबाट वितरण हुने विद्युत् यहाँका उपभोक्ताका लागि वैकल्पिक भरपर्दो र सुनिश्चितता कायम हुन्छ। मर्मत तथा बुस कटिङ कार्यमा सहज हुनेछ। विद्युत बिक्रीबाट प्राप्त हुने राजश्वमा समेत वृद्धि हुनेछ। उद्योग, व्यापार, सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने, खानेपानीको लागि गुणस्तरीय विद्युत उपलब्धता हुने प्रमुख पौड्यालले बताए।