• २०८३ असार ९ गते मङ्गलवार

राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमा प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ ९, काठमाण्डौ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठनबारे गृहकार्य सुरु गरेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओली सम्भव भएसम्म कांग्रेसलाई समेत सरकारमा सामेल गराएर राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमा रहेका छन ।

प्रधानमन्त्री ओली आफ्नै नेतृत्वको सरकारमा सकभर सबैलाई समेटेर राष्ट्रिय सहमतीको सरकारको आकार बनाउने प्रयत्नमा लागेका छन् । त्यसका लागी उनले कांग्रेस, जसपा र अन्य साना पार्टीको समेत सहभागीता गराउने गृहकार्यमा लागेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर सरकारमा सहभागीताका लागी आमन्त्रण गरिसकेका छन् तर त्यसमा देउवाको सकरात्मक जवाफ भने नआएको बताइन्छ । प्रतिनिधिसभाको विघठनपछि निर्वाचनमा जाने ओली सरकारको निर्णयपछि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष आन्दोलन गर्ने र कानुनी लडाई लड्ने पक्षमा रहेको बेला प्रधानमन्त्री भने कांग्रेसलाई मनाउनेमा लागेका छन् । त्यसका लागी उनले नेता रमेश लेखक वा विमलेन्द्र निधीको नेतृत्वमा सरकारमा पठाउन देउवालाई आग्रह गरिसकेका छन् ।

अहिले प्रधानमन्त्री ओलीसहित १५ मन्त्री र तीन जना राज्यमन्त्री छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका ७ जना मन्त्री सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भइसकेका छन् । ती मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् । उनले जसपाका नेताहरु इस्तियाक राई र प्रदिप यादवसंग समेत संवाद बढाएका छन् । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका र अस्ति भर्खर राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएका पुर्व गृहमन्त्री रामबहादुर थापालाई उपप्रधानमन्त्रीको रुपमा नियुक्त गर्ने तयारी गरेका छन् । यद्यपी उनको मन्त्रालय पनि परिवर्तन हुन सक्ने सम्भावना छ । त्यसैगरी लेखराज भट्ट, टोपबहादुर रायामाझी र प्रभु शाह समेत दोहोरिने सुचीमा छन् । यता एमालेबाट पनि केही मन्त्रीको हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री ओली छन् ।

एमालेका दुई नेता गोकुल बांस्कोटा र महेश बस्नेतलाई पनि मन्त्री बनाउने सम्भावना छ । बस्नेतले गृहमन्त्रीमा दावी गरेका छन् । बांस्कोटालाई भने संचारको जिम्मेवारी दिने सम्भावना छ । ओली निकट रहेर काम गरिरहेका नेताहरु विशाल भट्टराई, खगराज अधिकारी र राजेन्द्र गौतम पनि मन्त्री बन्नेमा छन् । त्यसैगरी एमालेको संस्थापन पक्षमा रहे भने सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई पनि महत्वपुर्ण जिम्मेवारी दिने तयारी छ । प्रधानमन्त्री ओलीले थापा, अर्थमन्त्री रहेका पौडेल र बस्नेतमध्ये एक जनालाई गृहमन्त्री दिने सम्भावना बढी रहेको निकट स्रोतले जनायो । उनले जसपाका नेताहरुसंगको भेटमा अर्थ र गृहमन्त्रालय दिन नसकिने प्रष्ट पारिसकेका छन् ।

यता, जसपाभित्र पनि सरकारमा पठाउने नेताहरुको गृहकार्य सुरु भएको छ । राष्ट्रपतिबाट नागरिकता विद्येयकको प्रमाणिकरण हुने वित्तिकै र सोमबारबाट रेशम चौधरीको मुद्दामा सर्वोच्चमा बहस सुरु भएपछि सरकारमा जानेमा जसपा नेताहरु छन् । जसपाभित्र राजेन्द्र महतोको नेतृत्वमा जाने कि सवै युवा नेताहरुलाई मन्त्री बनाउने भन्ने छलफल चलिरहेको छ ।

जसपाबाट महतोसहित नेताहरु शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, उमाशंकर अरघरिया र रेणुका गुरुङलगायत मन्त्री बन्ने सुचीमा छन् । राजकिशोरको हकमा नेता महतोले विरोध जनाएको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस