• २०८३ जेष्ठ २१ गते बिहिवार

यसरी जोगाऔं खुवालुङ !

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

चैत १०, धनकुटा । सप्तकोसी नदीको बीचमा एउटा ठूलो ढुंगा छ, जसलाई खुवालुङ भनिन्छ। यो ठाउँ धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीभन्दा केही माथि पर्छ। किरात समुदायको आस्थासँग जोडिएको खुवालुङ फुटाउने भनिएपछि त्यसको विरोध भइरहेको छ। यसलाई बचाउन त्रिवेणी क्षेत्रमा विभिन्न संघसंस्थाको नेतृत्वमा दिनहुँ प्रदर्शन भइरहेका छन्।

स्थानीय, पर्यटन व्यवसायी र अभियन्ताले नदीको धार केही परिवर्तन गरी खुवालुङ जोगाएर जेटबोट सञ्चालन गर्न सकिने विकल्प सुझाएका छन्। सहिदभूमि गाउँपालिका–१ त्रिवेणीका भानुभक्त राईले खुवालुङको संरक्षण गर्दै वैकल्पिक बाटोका विषयमा राज्य, अभियन्ता र स्थानीयबीच सर्वपक्षीय छलफल हुनुपर्ने बताए। यो ठाउँको बायाँ उदयपुरको बेलका नगरपालिकातर्फ ढुंगा छन्। त्यसलाई पन्छाएर नदीको चौडा बढाउन सकिने राईको ठम्याइँ छ।

‘अरुण र तमोरको दोभान मास्तिरको बीचभागमा ठूलो फाँट भएको बगर छ’, उनले भने, ‘सो बगरको फाँटको भाग कटिङ गर्न सक्दा खुवालुङ जोगाउने विकल्प हुन सक्छ।’ पछिल्लो समय त्रिवेणीसँगै खुवालुङमा धार्मिक पर्यटक बढ्न थालेको स्थानीयको भनाइ छ। खुवालुङ फुटाउने भनिएपछि यो ठाउँ हेर्नेको भीड लाग्न थालेको छ। उनका अनुसार आन्तरिक पर्यटक तथा अभियन्ता जेटबोट चढेर हेर्न आउँछन्।

किरातराई बान्तवा खिमका अध्यक्ष ज्ञान किराती ९काम्दुङ०ले खुवालुङ मास्न नहुने बताए। ‘खुवालुङ किरातहरूको सांस्कृतिक केन्द्र हो’, अध्यक्ष किरातीले भने, ‘जो ऐतिहासिक स्थल खुवालुङलाई मानी पूजा गरिन्छ।’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ नफुटाउने आश्वासन दिए पनि आशंका अझै रहेको उनको भनाइ छ। यसलाई फुटाउनुको साटो जोगाएर स्टिमर चलाउन सकिने र यो क्षेत्रमा पर्यटनको विकास गर्नुपर्ने उनले बताए।

सप्तकोसी जलयातायात प्रालिका सञ्चालक राजेन्द्र कार्कीले प्राचीन संस्कार मास्ने होइन कि बचाउनुपर्ने बताए। सञ्चालक कार्कीका अनुसार यो विषय उठान भएपछि थप पर्यटन प्रवद्र्धन भएको छ। दैनिक ५०–६० जना खुवालुङ हेर्न जेटबोट चढेर आउन थालेको उनको भनाइ छ।

राज्यले खुवालुङ जोगाएर नदीको धार परिवर्तन गर्न आवश्यक रहेको उनले बताए। अरुण र तमोरको संगमस्थलको बीच क्षेत्रमा रहेको बगरलाई कटान गरी अरुणको धार परिवर्तन गर्न सके खुवालुङ जोगिने र धार्मिक पर्यटन बढ्ने उनको अपेक्षा छ। सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले किरातीको उत्पत्ति थलो भएका कारण खुवालुङ नफुटाई वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए। ‘यो किरातीहरूको धार्मिक केन्द्र हो’, अध्यक्ष राईले भने, ‘यसलाई जोगाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ।’ यसलाई जोगाउन उदयपुरतिरको भागमा रहेका ससाना ढुंगा हटाउन सकिने वा तमोरतिरको बगर कटान गरी नदीको धार केही परिवर्तन गरी जेटबोट सञ्चालन सकिने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गते विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सप्तकोसी नदीमा स्टिमर चलाउन बाधा गर्ने ‘एउटा ढुंगो’लाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएपछि खुवालुङको चर्चा भएको हो। सरोकारवाला पक्ष प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आन्दोलित बनेको हो। प्रदेश सरकारले ठूलो जेटबोट सहज रूपमा सञ्चालन गर्न बजेट विनियोजन गरी काम थाल्ने प्रक्रिया अगाडि बढाएको बेला अभियन्ताले दिनहुँ विरोध गरिरहेका छन्।

मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले केही दिनभित्र मुख्यमन्त्री राई खुवालुङ क्षेत्रको भ्रमण गरी सर्वपक्षीय छलफल गर्ने योजनामा रहेको सुनाए। सबैको धारणा सुनेर मात्रै निर्णय लिइने सुवेदीले बताए। यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस