• २०८३ बैशाख ८ गते मङ्गलवार

लुम्बिनी प्रदेशसभा बैठक १३ गते सम्मका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ६, रुपन्देही । नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।

असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।

यसअघि भदौ ३१ गते बसेको प्रदेशसभा बैठक एमालेको अवरोधपछि असोज ७ गतेसम्मका लागि स्थगित गरिएको थियो । नेकपा एमालेले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई सभामुखले पदमुक्त नगरेको भन्दै प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै अवरोध गर्दै आएको छ ।एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले एमालेले कारबाही गरेका दुई जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान कायम रहेको रातोपाटीलाई बताए । ‘हाम्रो सांसदको विषयमा या त अदालतले निर्णय दिन्छ या सभामुखले हटाएको सूचना जारी गर्नुपर्छ, त्यो नभएसम्म हामीले सदन चल्न नदिने अडान कायम छ,’ उनले भने ।

सभामुख पूर्णबहादुर घर्तीले दुई जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दामा सदन अवरुद्ध गर्नु संविधान विपरीत भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस