जेठ ८,काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्। आज बसेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी काम गरेको भन्दै स्पष्टीकरण सोधेको बागमती प्रदेशमा एमालेका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो समयदेखि पार्टी विरोधी र संसदीय दल विरोधी काम गरेकोले भोलि ५ बजेसम्म जवाफ बुझाउनुपर्ने गरि स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएका सांसदहरूमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली, लक्ष्मण लम्साल र पार्वती सिलवाल रहेका छन्।
जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा नेपाल पक्षीय जनप्रतिनिधिले स्वतन्त्र उम्मेदवारलाई मत दिएका थिए। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन ह्वीप जारी गरेको भए पनि उनीहरूले मत दिएका थिएनन्।