पुस ६, मुम्बई । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ । अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् । मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् । सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए ।