असोज ५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई ल्याउने भएका छन्। राष्टसंघीय महासभाको तिथि नजिकिँदै गएका बेला सत्ता गठबन्धनले त्यहाँ पठाउने गरी परराष्ट्र मन्त्रालयमा नेतृत्व पक्का गरेको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायतको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको हो । प्रधानमन्त्री देउवा राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन्।
नेपाल सार्क परिषद्को अध्यक्षसमेत भएकाले राष्ट्रसंघीय महासभामा राजनीतिक नेतृत्वको आवश्यकता गठबन्धनले महसुस गरेको हो। स्रोतका अनुसार खड्काको शपथ भने बुधबार हुनेछ। अन्य मन्त्रीहरुको टुंगो भने बिहीबारको बैठकले गर्ने छ ।