असोज ५, काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उहाँको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उहाँका रचना कालजयी भएको बताउनुभयो ।
नेपाली साहित्यबाहेक पत्रकारिकताको क्षेत्रमा पनि उहाँको देन अमूल्य रहेको वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरु बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।सोही अवसरमा भैरव स्मृति भवनमा नब निर्मित सभाकक्ष तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासदस्य छिरिङदोर्जे लामाले शुभारम्भ गर्नुभएको थियो ।
विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षका उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गर्नुभएको थियो । उहाँका ‘जयभुँडी’, ‘काउकुती’, ‘इतिश्री’, ‘दश अवतार’, ‘गलबन्दी’, ‘उपवन’ लगायतका कृति लोकप्रिय छन् ।