असोज ५, काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय, बबरमहलमा सोमबार साँझ भएको तोडफोड र धरपकडको एमालेले निन्दा गरेको छ।
एमालेले सोमबार साँझ विज्ञप्ति जारी गरी केही अराजक व्यक्तिले कार्यलयभित्र अनधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोड्फोड र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोईराला लगायतका पदाधिकारीलाई हातपात गरेको भन्दै निन्दा गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न आक्रमणकारी समूहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको उल्लेख छ। आक्रमणकारी समूहलाई कानून बमोजिम कारवाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि कार्यालयमा के भएछ भनी हेर्न गएका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। ‘सुनियोजित घटना प्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
एमालेले तत्काल नियन्त्रणमा लिएका संगठनका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई रिहा गरी अक्रमणमा संलग्न समूहलाई कारबाही गर्न माग गरेको छ।