असार ७, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा स्टेभेन जुबेरको पासमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा जुबेर पासमा शाकिरीले डिबक्स क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा हकानको पासमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए ।
समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।