• २०८३ जेष्ठ २९ गते शुक्रवार

एक हजार ९६ सङ्क्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८१५ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण सात लाख ८३ हजार ३९७ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३०५ जनाको निधन भएको छ । होम आइसोलेसन १० हजार ८६६, संस्थागत आइसोलेसनमा ९४९ जना , सघन उपचार कक्षमा २६७ र भेन्टिलेटरमा ८६ जना रहेका छन् । आज एक लाख ६३ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६२ हजार ३६५ पहिलो मात्रा र ६४ लाख ८५ हजार ९२३ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस