चैत ६ एजेन्सी । युरोपेली सङ्घ ईयूको औषधी नियामक ईएमएले गरेको एउटा समीक्षाले अक्सफर्ड-आस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारीरहेको निष्कर्ष निकालेको छ ।
उक्त खोप र रगत जम्ने समस्याबिच सम्बन्ध हुन सक्ने भन्ने त्रासका बीच १३ ईयू देशहरूले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । बीबीसीका अनुसार इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई आजबाट पुनः सुरु गर्ने घोषणा गरेका छन् । स्विडेनले निर्णय लिनका लागि आफूलाई केही दिनु चाहिने जनाएको छ ।
ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-आस्ट्राजेनेका खोप रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने उक्त निकायले जनाएको छ । ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।
आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने र नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्। विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो । उक्त खोपको सुरक्षाका सम्बन्धमा आज उसले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ। डब्ल्यूएचओको अनुसन्धान रगतमा असहजता देखा परेका केही घटनाहरूमा केन्द्रित थियो । खासगरी उसले टाउकोमा रगत जम्ने अवस्थालाई हेरेको थियो ।
आस्ट्राजेनेका कम्पनीले ईयू र यूकेमा ८ मार्च सम्ममा १ करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ।
उसले रगत जम्ने त्यस्ता घटनाको सङ्ख्या आम जनसङ्ख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ।