माघ ६, नयाँदिल्ली। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सम्बन्ध अटुट रहेको भन्दै नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने कुरा रहेको बताएका छन् । त्यहाँको टेलिभिजन च्यानल ‘आजतक’मा आइतबार एक अन्तर्वार्ता दिँदै उनले नेपाल-भारत सम्बन्ध दाजुभाइको जस्तो रहेको बताएका हुन् ।
उनले कहिलेकाहीँ दाजुभाइमा अविश्वास सिर्जना हुन सक्ने भन्दै त्यसलाई बातचितबाट समाधान गर्न सकिने तर स्थायी शत्रुता कल्पनासम्म गर्न नसकिने धारणा उक्त टेलिभिजनमार्फत दिएका हुन् । राजनीतिक रूपमा सम्बन्ध उतारचढावपूर्ण भए पनि जनस्तरमा भने सदियौँदेखि दुवै देशबीच प्रगाढ सम्बन्ध रहेको उनको भनाइ थियो ।
नेपालसँग हाम्रो धेरै पुरानो प्रगाढ सांस्कृतिक सम्बन्ध छ, उनले भनेका छन्, ‘नेपाल केवल हाम्रो छिमेकी मात्र हैन, भाइ पनि हो । दाजुभाइमा कहिलेकाहीँ अविश्वास होला, नेपालले हाम्रो बारे जेजस्ता टिप्पणी गरे पनि म त्यस्तो प्रतिकूल टिप्पणी गर्न सक्दिनँ ।’ सिंहले दुवै देशबीच समस्या भए संवादबाटै समाधान निकाल्न सकिने समेत बताए ।
गत साता मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गरी फर्केका छन् । सो क्रममा मन्त्री ज्ञवालीले त्यहाँका रक्षामनत्री सिंह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने सामान्य शिष्टाचार भेट पनि हुन सकेन । दिल्लीमा रहँदा मन्त्री ज्ञवालीको टोलीले प्रधानमन्त्री मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेट्ने प्रयास गरे पनि मोदीले भेट नदिएको भन्दै नेपालमा चर्को आलोचना भइरहेको छ ।