जेठ ४, बाँके । दोस्रोे चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि भारतमा रोजगारीका लागि गएका ७१ हजारभन्दा बढी नेपाली नेपालगञ्जस्थित जमुनाह नाका भएर नेपाल फर्किएका छन् । भारतमा सङ्क्रमणले भयावह रुप लिएपछि त्यहाँका अधिकांश सहरमा कोरोना कर्फ्यू लगाइएकोले गत एक महिनाको अवधिमा रोजगारीका लागि त्यहाँ गएका ७१ हजार ७६ जना नेपाली जमुनाह नाका भएर स्वदेश फर्किएको जमुनाह प्रहरीले जनाएको छ ।
सीमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले दोस्रो चरणको कोरोना लहर शुरु भएयता मात्रै यो नाकाबाट ७१ हजार ७६ जना नेपाली नेपाल फर्किएको बताउनुभयो । हालसम्म सो हेल्थ डेस्क पार गरेर ७१ हजार ७६ जना स्वदेश फिर्ता हुनुभएकोमा लक्षण चिन्ह देखिएका सहित १ हजार ५४१ जनाको एन्टिजिन परीक्षण गरिएकोमा १९८ जनामा कोभिड पोजिटिभ देखिएको जमुनाहस्थित हेल्थ डेस्कले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै ठुलो संख्यामा नेपालीहरु फिर्ता भैरहेकोले सिमिति जनशक्तिको भरमा नेपाल भित्रिनेको लगत सङ्कलनका साथै स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण समेत भैरहेको बताउनुभयो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होलिडङ सेन्टर समेत सञ्चालन गरिएको छ ।
भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० बेडको आइसोलेसन वार्ड सञ्चालन गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त आइसोलेसनमा घरमा आईसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिइरहनुभएको जनाइएको छ ।