चैत ५, काठमाडौं । पोखरा महानगरपालिका- १३ संगमटोल बस्ने टिङ्कु भन्ने २१ वर्षीय सागर परियारलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ८९ ट्याब्लेट र मोबाइल १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-५ रातामाटे बस्ने कुल बहादुर राईको घरबाट अवैध लागूऔषध गाँजा करिब २० किलो बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उनको घरमा अवैध लागूऔषध लुकाईछिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार कुल बहादुरको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।