चैत ५, काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने भन्नेमा अलमल देखिएको छ । समानान्तर रूपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो ।
यही रणनीतिअनुरूप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने, ती कमिटीमा ओलीतिरका मान्छे नआए पदपूर्ति गर्दै जाने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ । उपाध्यक्ष भीम रावलले बिहीबारसम्म आउने समूहगत छलफलको निचोडका आधारमा आगामी योजना तय हुने जानकारी दिए ।
खनाल–नेपाल समूहले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने प्रस्ताव गरेको छ । ‘कमरेड केपी ओलीका विचार र व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । हाम्रो तात्कालिक कार्यभार माथिका चुनौतीहरू सामना गर्नका निम्ति हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो,’ वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको अवधारणापत्रमा भनिएको छ, ‘त्यसका निम्ति सर्वप्रथम नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । त्यसको पूर्वसर्त २०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्छ ।’
गत फागुन २८ गते प्रधानमन्त्री निवास बालुवाटारको बैठकबाट भएका निर्णयले भने एकताको आधार कमजोर बनाएको ठहर खनाल–नेपालपक्षीय एमालेको छ । प्रधानमन्त्री ओलीले २८ गते आफूनिकट नेताहरूको केन्द्रीय कमिटी बैठक बोलाएर माओवादी केन्द्रबाट आएका नेताहरूलाई मनोनयन गर्ने र इतर समूहका नेताको जिम्मेवारी खोस्ने निर्णय गरेको सुनाएका थिए । एमाले ब्युँतिएपछि संयुक्त बैठकको प्रयास भइरहेका बेला ओलीको एकलौटी निर्णय सार्वजनिक भएपछि खनाल–नेपाल समूहले पनि केन्द्रीय कमिटी र सांसदहरूको बैठक बोलाएर ओली प्रवृत्तिविरुद्ध लड्ने भन्दै राष्ट्रिय भेला आह्वान गरेको थियो । त्यसपछि गत सोमबार ओलीकै प्रस्तावमा दुवै समूहका पदाधिकारीको बैठक भए पनि त्यो सकारात्मक हुन सकेन । मंगलबार ओली पक्षले गरेको चियापानमा खनाल–नेपाल समूहका नेता सहभागी भएनन् । ओलीले मञ्चबाटै खनाल–नेपालपक्षीय भेलामा सहभागी भए पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।
खनाल–नेपाल समूहले ओलीसँग सोमबार भएको छलफलमा राखेको प्रस्तावअनुसार नै गत फागुन २८ गतेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याए एकताको सम्भावना रहेको भेलामा सहभागी नेताहरूले बताएका छन् । सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादीसँग मिलेर नेकपा हुनुअघिको परिस्थितिमा फर्किन प्रधानमन्त्री ओली तयार भए पार्टी एकता हुने बताए । १ सय २० सदस्यीय संसदीय दलमा नेपाल पक्षका ४० जना मात्रै भए पनि नेकपा एक हुनुअघिको केन्द्रीय कमिटीमा ओली र नेपालपक्षीय नेताहरूको संख्या हाराहारी छ । पछि एकीकरण हुँदा थपिएका केन्द्रीय सदस्यमा ओलीतिर २८ र नेपालतिर १४ जना मात्रै छन् । यस्तै, गत २८ गते अरू २३ जनालाई ओलीले केन्द्रीय कमिटीमा थपेको बताएका छन् । ओलीले पछिल्ला निर्णय केन्द्रीय कमिटीमा पनि एकलौटी बहुमत पुर्याउनका लागि गरेको खनाल–नेपाल पक्षको बुझाइ छ । त्यसैले उक्त समूहले पार्टी एकताको बटमलाइन २८ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय खारेजीलाई पनि बनाएको हो ।
गत २८ गते नै दुईवटा बैठक राखेका ओलीले आउँदो ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उक्त बैठकमा पनि नेपालपक्षीय केन्द्रीय सदस्य उपस्थित नभए अनुशासनको कारबाही गर्नेसम्मको परामर्श ओली समूहमा भइरहेको छ । एमालेको विधानमा लगातार ३ वटा बैठकमा जानकारी नदिई उपस्थित नभए कारबाही गर्न सक्ने प्रावधान छ । ‘अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयास असफल पार्न हामीले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्नुपर्छ । २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागको पुनःस्थापना गर्नुपर्छ,’ नेपालले प्रतिवेदनमा लेखेका छन्, ‘पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ । नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्छ ।’
भेलामा वरिष्ठ नेता नेपालले २०७१ मा ओली पार्टी अध्यक्षमा निर्वाचित हुनु नै आन्दोलनका लागि दुर्भाग्यपूर्ण भएको बताए । ओलीले अरूप्रति निषेधात्मक व्यवहार गरेर आफ्नो गुटलाई मात्रै बलियो बनाउँदै लगेकाले त्यसविरुद्ध लड्नुपर्ने उनले बताए । ‘तपाईंहरू पनि पीडित, हामी पनि पीडित । पीडित–पीडित एकै ठाउँमा भेला भएका छौं,’ सहभागीलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘नेताहरू पदका लागि हानथाप गरिरहेका छन् भनेर कुनै पनि भ्रममा नबस्नुहोला, ओलीले तहसनहस पारेको पार्टीेलाई हामीले उठाउनुपर्छ ।’ नेपालले ओलीको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षा व्यवस्थापन गर्ने झुन्डमा परिणत गरेको र त्यसो नसके पार्टी नै विभाजन गर्ने दुस्साहस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘आज हामी कति संवेदनशील अवस्थामा छौं भने पार्टी अध्यक्ष र उहाँको सानो गुटले पार्टीलाई आफ्नो महत्त्वाकांक्षाको व्यवस्थापन गर्ने झुन्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ । ती महत्त्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्न सुनियोजित रूपमा अघि बढ्नुभएको छ ।’ पार्टी जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन आफ्नोतर्फबाट पहल गर्न पनि वरिष्ठ नेता नेपालले अपिल गरेका छन् । याे समाचार कान्तिपुर दैनिकमा रहेकाे छ ।